नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक
काठमाडौं । वायु प्रदूषण, ट्राफिक जाम र सवारी चाप नियन्त्रण गर्न नेपाल सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्काल रोक्का गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागले आज एक पत्र जारी गर्दै सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक सवारी सङ्ख्या बढ्दा प्रदूषण र आवागमनमा कठिनाइ भएको जनाएको छ।
सरकारले यो निर्णय “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितलाई ध्यानमा राखेर लिएको हो । सरकारले सबै प्रकारका सार्वजनिक सवारी साधन (इलेक्ट्रिक सवारीसमेत) को दर्तामा रोक लगाएको हो ।
विभागले सबै प्रदेश तथा स्थानीय यातायात कार्यालयलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । सरकारले कति समयसम्म दर्ता रोक्का गरिएको हो त्यो भने खुलाएको छैन।

