नेपालका राजनीतिक शक्तिहरू विचारशून्य छन्: डा.सीके राउत
काठमाडौं।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय राजनीतिक शक्तिहरू विचारशून्य भएको बताएका छन्।
काठमाडौँमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढेको टिप्पणी गरे। राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिए।
उनले हालको राजनीतिक अवस्थालाई ‘विचारशून्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गरे।
संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताए।
अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गरे। पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको विश्लेषण छ।
डा। राउतले भने,आज वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ। हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ। यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ।
आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनानुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।
विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपुर्याउने भन्दै उनले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताए।
