देशलाई माया गरेकाले दैनिक १० हजारले गाली गर्छन्: हर्क राई

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूलाई गाली गरेको गुनासो गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफूले धरानको मेयर हुँदा दैनिक हजार पल्ट गाली पाउने गरेको भन्दै हाल दैनिक १० हजार पुगेको बताए।

अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे। नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए।

राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाए। उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए। उनले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए।

राईले भने,संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे म हुँ। मैले यो देशलाई बिछट्टै माया गरेकाले गाली खाइराखेको छु। अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु।

उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गरे। पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह गरे।