संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पार्ने सरकारी निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता बेवास्ता गरी गरिएका निर्णयले सांस्कृतिक विरासतलाई नै खतरा पुर्याउने चेतावनी दिए ।
पशुपतिमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने निर्णयको विरोध गर्दै उनले यसले परम्परा धान्दै आएका परिवारलाई कमजोर बनाउने र सांस्कृतिक सम्पदा समाप्त हुने खतरा रहेको बताए ।
उनले भने “यस्ता निर्णयले समुदाय र सांस्कृतिक पहिचानमा गम्भीर असर पार्न सक्छ । लोकतन्त्रमा सरकारले निर्णय सच्याउन सक्नुपर्छ, यो कमजोरी होइन, जिम्मेवारी हो ।उनले स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन नगरी बस्ती खाली गराउनु अन्यायपूर्ण भएको भन्दै सरकारलाई तत्काल पुनर्विचार गर्न आग्रह गरे ।
