असार महिनाका लागि ६ बैङ्कको घट्यो ब्याजदर
काठमाडौं । असार महिनाका लागि वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन्। २० मध्ये १७ वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको हो।
११ बैङ्कले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन्। ६ वटा बैङ्कले ब्याजदर घटाएका छन्। यिनमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन, एनएमबी बैङ्क छन्।
असारमा वाणिज्य बैङ्कहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैङ्कले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो। बैङ्कहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।
लामो समयदेखि नै बैङ्कहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैङ्कहरूको ब्याजदर घटिरहेको छ। हाल बैङ्कहरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैङ्कहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैङ्कमा लगेर पैसा राखिरहेका छन्।
अहिले बैङ्क तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन्। मासिक रूपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैङ्कहरूमा निक्षेप बढेको हो।
