आज सातै प्रदेशले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् ।

आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही नियम अनुसारआज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् । यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।

विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् । सबैभन्दा ढिलो बजेट ल्याउने सूचीमा रहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने गरी आन्तरिक तयारी पूरा गरेका छन् ।