अब बर्खाका तीन महिना सडक खन्न नपाइने
काठमाडौँ । बर्खायामका तीन महिना देशभर कुनै पनि सडक खन्न नपाइने भएको छ।सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयले सूचना प्रकाशित गरी सडक खन्न नपाइने जनाएको छ। अनुगमन कार्यालयले वर्षायाममा सडक खन्ने स्वीकृति नदिनेबारे सार्वजनिक सूचना गरी यसबारे सचेत गराएको छ।
सूचनाअनुसार, असरा १ देखि भदौ मसान्तसम्म सडक खन्न पाइनेछैन। सूचनामा ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लाग सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले मिति २०८३ असार १ गतेदेखि २०८३ भदौ मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिने’ उल्लेख छ।
अनुमितविना सडक खनेको पाइएमा कारबाही गर्ने पनि अनुगमन कार्यालयले चेतावनी दिएको छ। सूचनामा भनिएको छ, ‘कसैले अनुमतिविना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
