देशसँग पीरती लगाउँदा मन्त्री भएँ: महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् । सुरुमा गाउँसँग पिरती थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाई थियो । उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसद्मा सुनाए।

उनले भने ,‘एउटा गीत छ-मत यस्तो होइन दाई, पिरतीले जोगी बनायो । यो पहिलापहिलातिरको समयमा गाइन्थ्यो यो गीत । अव म पनि त्यस्तो संसद् हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो। एउटा लामो कहानी छ। पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए रु भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो। मेरो पिरती खासमा देशसँग बसेको हो। तर सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहिँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भए । पक्का जोगी हो म चाहिँ । व्यवहारिक रूपमा पनि म जोगी नै हो।

मन्त्री पुनले पिरतीले जोगी बनाएको गीतको स्मरण गराउँदै उनले आफू व्यवहारिक रूपमा सोही गीतले भनेझैँ जोगी भएको बताए।