पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न हर्क साम्पाङको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराए ।
सांसद राईले प्रधानमन्त्रीको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए । प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आपत्ति प्रकट गरे।
सांसद राईले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गरे। रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उले अर्थमन्त्रीको जवाफदेहिता माग गरे।
यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटी देखिएको उनको दाबी छ । ५ अर्बभन्दा बढीको बजेटमा १ अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी ४ अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताए । यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको सांसद राईको तर्क थियो।
उनले भारतको पटनामा ९०० जना नेपाली दाजुभाइ दिदीबहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी वन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराए।
त्यहाँ नेपालीहरूको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए।
सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उनले सम्बन्धित मन्त्रालयसँग माग गरे।
