पार्टीभित्र बृहत्तर एकता कायम गरी अवसरवादलाई परास्त गरौँ: महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र बृहत्तर एकता कायम गर्न तथा लोकतन्त्र र जनहितको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै बस्नेतले उक्त आह्वान गरेका हुन्। एमालेभित्रको एकतालाई थप सुदृढ बनाउँदै वामपन्थी शक्तिबीच कार्यगत एकता विस्तार गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य बढाउनुपर्नेमा पनि जोड दिए।
बस्नेतले पपुलिस्ट अराजकतावाद र अवसरवादलाई परास्त गर्नुपर्ने उल्लेख गर्दै साम्राज्यवादी हस्तक्षेपको विरोध गर्नुपर्ने बताए। साथै उनले वर्तमान सरकारलाई प्रतिशोधी, अधिनायकवादी, राष्ट्रघाती, गरिबमारा तथा जनविरोधी भएको आरोप लगाउँदै त्यस्तो सरकारलाई विस्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनहितको रक्षा आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै बृहत्तर एकता, सहकार्य र संघर्षलाई समयको मागका रूपमा व्याख्या गरेका छन्। जनताको अधिकार, समृद्धि र लोकतन्त्रको संरक्षणमा सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ छ।
बस्नेतले पार्टीको वर्तमान नेतृत्वको इतिहास, योगदान र अनुभवको सम्मान गर्नुपर्नेमा जोड दिँदै नेतृत्व विकास क्रमबद्ध, वैधानिक र सहमतिपूर्ण ढंगले अगाडि बढाइनुपर्ने बताएका छन्। साथै उनले एकता, विधि र लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
