पार्टी छोड्नेहरूले राजसंस्था पुनर्स्थापनाको वातावरण बिगारे: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेर जाने नेताहरूले सिद्धान्त र विचारको नाममा ‘नाटक’ मात्र प्रदर्शन गरेको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उनीहरूको कदम नियोजित र षड्यन्त्रपूर्ण रहेको बताएका हुन्।

केही साता अघि महामन्त्री धवलशमशेर राणालगायत नेताहरूले पार्टी परित्याग गरेका थिए। उनले भने, “केही मानिसहरूले पार्टी विचारबाट विचलित भयो भनेर छोडेका छन्, तर यथार्थमा यो राप्रपालाई कमजोर बनाउने एउटा नाटक मात्र हो। देशभर राजसंस्थाको पक्षमा अभूतपूर्व जनमत बढिरहेको बेला आन्दोलनलाई बीचैमा तुहाउने र वातावरण बिगार्ने काम उनीहरूबाट नै भयो। इतिहासले यस्ता पात्रहरूलाई दण्डित गर्नेछ।

आफू र वर्तमान कार्यसमितिले राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचारविरुद्धको मुद्दामा कुनै सम्झौता नगरेको स्पष्ट पार्दै लिङ्देनले भने, “विगतको नेतृत्व र कार्यशैलीबाट पाठ सिक्दै हामी पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन खोजिरहेका छौँ । तर, हिजो पार्टी फुटाउने र जुटाउने खेलमा रमाउनेहरूलाई अहिलेको सुधार र अनुशासन सह्य भएको छैन।

उनले अबको बाटो ‘आउट अफ बक्स’ सोच र नयाँ कार्यशैलीबाट अघि बढ्नुपर्नेमा बताए । आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन आयोजना गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उनले भने, “महाधिवेशनले देशलाई नयाँ सन्देश दिनेछ ।” उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन्।