मुगुको सोरुमा खानेपानीको हाहाकार: रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय
मुगु। मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीहरूमा खानेपानीको अभावले विकराल रूप लिएको छ। प्राकृतिक पानीका मुहानहरू तीव्र रूपमा सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पर्ने न्यूनतम् पानी जुटाउन समेत निकै सकस भइरहेको छ।
सोरु गाउँपालिकाका वडा नम्बर १, २ र ३ का दुई दर्जनभन्दा बढी बस्तीमा खानेपानीको यो संकट चुलिएको हो। लामो खडेरी, जलवायु परिवर्तनको असर, अव्यवस्थित ग्रामीण सडक निर्माण तथा तीव्र वन फँडानीका कारण परापूर्वकालदेखिका पानीका स्रोतहरू क्रमशः सुक्दै गएका हुन्।
यस चरम अभावका कारण सो क्षेत्रका करिब ३५० भन्दा बढी घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने स्थानीयको मुख्य जीविकोपार्जनको माध्यम मानिएको कृषि र पशुपालन क्षेत्रमा समेत गम्भीर धक्का लागेको छ।
यहाँका बासिन्दा अहिले गाउँदेखि करिब आधा घण्टाको पैदल दुरीमा रहेको एउटा साघुरो नाउलाको धमिलो पानी लिन घण्टौँ लाइन बस्न बाध्य छन्। विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू बिहान झिसमिसेदेखि राति अबेरसम्म पालो कुर्दै पानी संकलन गरिरहेका छन्।
स्थानीय डल्ली धामीका अनुसार गाउँका अधिकांश साना मुहान सुकिसकेकाले एक गाग्री पानीका लागि रातदिन अनिँदो बस्नुपर्ने अवस्था छ। निर्वाचनका बेला घरदैलोमा आएर खानेपानीको समस्या समाधान गर्ने ठूला-ठूला वाचा गरेका नेताहरूले जितेर गएपछि गाउँको दुर्दशा बुझ्न फर्केर समेत नआएको भन्दै उनले आक्रोश पोखिन्।
अर्की स्थानीय सरदेवी धामीले मात्र २० लिटर पानी लिनका लागि तीनदेखि चार घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता सुनाउँदै बालबालिकालाई पानी लिन पठाउँदा धेरैजसो रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताइन्। पर्याप्त पानी नहुँदा घरमा सरसफाइ गर्न नसकिएको र पशुचौपायालाई पानी खुवाउन नसकेपछि कर्णाली नदी आसपासको खुला चरनमै छाडिदिनुपरेको उनको भनाइ छ।
खडेरीका कारण विगत दुई वर्षयता पानीका मुहान सुक्दै जाँदा खेतबारीमा लगाइएका अन्नबाली समेत उम्रन नपाउँदै नष्ट हुन थालेका छन्। असार महिनाको यो मुख्य खेतीको समयमा हरियाली हुनुपर्ने सोरुका खेतबारीहरू अहिले उजाड र फुस्रा देखिन्छन्, जसले आगामी दिनमा यस भेगमा खाद्य संकट र भोकमरीको ठूलो जोखिम निम्त्याउने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।
गाउँमा खानेपानीको समान वितरणका लागि चौकीदारसमेत राखिएको भए पनि मुहानमै पानीको सतह घटेपछि सबै घरपरिवारलाई दैनिक पाँच लिटर पानी उपलब्ध गराउन समेत कठिन भएको खानेपानी चौकीदार धनवीर बुमीले पीडा पोखे।
उनका अनुसार गाउँको तल्लो भागमा विशाल कर्णाली नदी निरन्तर बगे पनि पहाडमा रहेका बस्तीसम्म पानी पुर्याउने कुनै प्रविधि र व्यवस्था नहुँदा स्थानीय काकाकुल बन्नुपरेको हो।
सोरु गाउँपालिका-३ का वडा अध्यक्ष सिंहबहादुर धामीले गाउँमा स्थायी खानेपानी स्रोतको अभाव हुनु नै मुख्य समस्या रहेको स्वीकार गरेका छन्। उनले पुराना र भत्किएका खानेपानी आयोजनाहरू मर्मत गरी तत्कालका लागि राहत दिने प्रयास भइरहेको बताए।
दीर्घकालीन समाधानका लागि भने मुगु-हुम्ला कर्णाली नदीबाट लिफ्टिङ प्रणालीमार्फत खानेपानी र सिँचाइ आयोजना सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने काम अघि बढाइएको जानकारी दिए।
यसैगरी, गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले वडा नम्बर १, २, ३ र ६ मा खानेपानीको समस्या निकै भयावह रहेको बताउँदै संघीय सरकारको सहयोगमा बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको उल्लेख गरे।
उनले निर्माण कार्यलाई तीव्रता दिन पहल भइरहेको र विशेषगरी वडा नम्बर ३ का आठ वटा सुख्खाग्रस्त बस्तीका लागि लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए।
यद्यपि, स्थानीय सरकारले तत्काल प्रभावकारी र ठोस व्यवस्थापन गर्न नसके सोरु गाउँपालिकाका धेरै बस्तीहरूबाट खानेपानीकै अभावका कारण विस्थापन र बसाइँसराइ तीब्र रूपमा बढ्ने चेतावनी स्थानीय अगुवाहरूले दिएका छन्।
