नयाँ सरकार गठनपछि नेप्से ३५० अङ्कले घट्यो

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो।

नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि सेयर बजार बढ्ने आशा गरिएको थियो । तर सेयर बढ्न सकेको छैन ।

गत फागुन २१ गते भएको निर्वाचन अगाडि रास्वपाले आफ्नो वाचा पत्रमा समेत सेयर बजारमैत्री नीतिहरूको घोषणा गरेको थियो । तर सरकार बनेको भोली पटै देखि सेयर बजार भने घट्न शुरु भएको थियो।

बालेन सरकारले शपथ ग्रहण गर्नुभन्दा ठिक अघिल्लो दिन अर्थात् चैत १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९५०.१६ बिन्दुको उच्च स्थानमा अडिएको थियो । तर आजको दिनसम्म आईपुग्दा भने नेप्से परिसूचक २ हजार ६ सय को बिन्दुमा आएको छ ।

यसरी हेर्दा बालेन सरकार आए यता मात्र समग्रमा ३ सय ५० अङ्कले घटेको छ । यो सेयर बजारको ठूलो गिरावट हो। नेप्से परिसूचक २६०० बिन्दुमा आएसँगै ६ महिना यताकै न्युन बिन्दुमा नेप्से आएको छ। गत पुस ९ गते २५९७ बिन्दुमा बन्द भएको थियो। त्यस यता भने भने शुक्रवार नेप्से परिसूचक २६०० बिन्दुमा आएको छ। यो ६ महिनाको अवधिमा नेप्से परिसूचक उच्चतम २ हजार ९ सय ७० (चैत ११ गते) पुगेको थियो । तर त्यस यता भने बजार लगभग निरन्तर जस्तो घट्दो क्रममा नै रहेको छ ।

बजेट र मौद्रिक नीतिले जगाउन सकेन उत्साह

नेप्सेमा भएको कारोबारको ट्रेण्डलाई हेर्ने हो भने बजेट पछि नै सेयर बजार घटेको देखिएको छ । लगानीकर्ताले लामो समयदेखि माग गरेको पुँजीगत लाभ कर नै अन्तिम कर हुनुपर्ने भन्दै आएका थिए। व्यवहारिक रूपमा त पुँजीगत लाभ कर नै अन्तिम कर भए पनि कानुनी रूपमा भने मान्यता पाएको थिएन । लगानीकर्ताहरूले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भने उक्त माग राखेका थिए।

लगानीकर्ताको माग बमोजिमै वाग्ले पनि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा पुँजीगत लाभ करणै अन्तिम कर हुने व्यवस्था गरेका थिए। तर पनि सेयर बजार भने बढ्न सेकेको छैन ।

बजेटमा वाग्लेले सेयर बजारको सुधारका लागि भन्दै १० वटा नीतिहरू लिएका थिए। जसमा एनआरएन भित्र्याउनेदेखि नेप्सेको पुनरसंम्रचनको विषयसमेत परेको थियो । तर बजारमा भने त्यसको खास असर भने देखिएन। अर्थमन्त्री वाग्लेले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नु अगाडी जेठ १३ गते नेप्से ५ अङ्कले बढेर २७८२ बिन्दुमा बन्द भएको थियो।

आगामी आ।व।को लागि जेठ १५ गते बजेट प्रस्तुत भयो। त्यसपछि भएको कारोबारमा धेरैले सकारात्मक सर्किट लेभलमा नेप्से पुग्ने अनुमान गरेका थिए । तर बजारले भने उल्टो बाटो समात्यो। बजेट पछि पहिलो कारोबार दिन नै नेप्से २६.७२ अङ्कले घटेर २ हजार ७ सय ५५ बिन्दुमा परिसूचक आएको थियो ।

बजेट आए यता मात्रै पनि नेप्से ८६ अङ्कले घटेको छ। बजेट पछाडि पूरै शेयर बजारको ट्रेन्ड हेर्ने हो भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा हरेको देखिन्छ । कारोबारमा समेत त्यस्तो उत्साह भने बजारमा देख्न सकिँदैन ।

बजेटमा राम्रो नीति आएको भए पनि केही धरपकड ९व्यवसायीहरूको पक्राउ०ले गर्दा पनि लगानीकर्ता अन्योल भएकाले गर्दा बजेटपछि सेयर बजार बढ्न नसकेको नेपाल सेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् ।

‘धरपकड भएकाले लगानीकर्तामा अन्योलको स्थिति सिर्जना भयो, अब के हुन्छ कुन कम्पनी पक्राउ खाने हो भन्ने अवस्था आयो’, पाण्डेले भने, ‘बजार जहिले पनि ठूला लगानीकर्ताले बढाउने हो । ठुला लगानीकर्ता आत्तिएर बजेट पछि नबढेको हो।

मौद्रिक नीतिले समेत फर्काउन सकेन सेयर बजार

बजेटपछि सेयर बजार नबढेपछि सबैको ध्यान राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा गएको थियो । तर मौद्रिक नीतिले भने सेयर बजारका लागि खासै त्यस्तो नीति केही पनि लिएको देखिएन ।

मौद्रिक नीति नै सम्भवतः इतिहासकै सबैभन्दा छोटो आएको थियो । त्यसमा पनि सेयर धितो कर्जामा राम्रो नेटवर्थ र वित्तीय अवस्था राम्रो भएको कम्पनीहरूको सेयर धितो राखेर मात्र कर्जा बढी पाइने खालको नीति आयो ।

यसले पनि सेयर बजारलाई भने खासै सकारात्मक प्रभाव पारेको देखिएको छैन । राष्ट्र बैङ्कका गभर्नर डा।विश्वनाथ पौडेलले गत असार २३ गते मौद्रिक नीति सार्वजनिक गरेका थिए । मौद्रिक नीति आए यता मात्र ३ दिन शेयर कारोबार भएको छ । तर लगातार ३ नै दिन सेयर बजार भने घटेको छ । मौद्रिक नीति आय यता मात्र नेप्से ५१ अङ्कले घटेको छ ।

मौद्रिक नीति आउनु अघिल्लो दिन नेप्से बढेर २ हजार ६ सय ५१ बिन्दुमा पुगेको थियो तर पछि भने निरन्तर नेप्से घटेर गत शुक्रवारसम्ममा २६०० को बिन्दुमा आएको छ ।

मौद्रिक नीतिले कम्पनीको अवस्था हेरेर कर्जा विस्तार गर्ने नीति लिएको कारणले गर्दा सेयर बजार बढ्न नसकेको नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर चिरञ्जिवी नेपाल बताउँछन् । ‘हाम्रो सेयर बजारमा ७० प्रतिशत जति बैंक तथा वित्तीय संस्था छन् । राष्ट्र बैङ्कले लिने नीतिले बजारमा ठूलो प्रभाव पर्छ’, नेपालले भने, ‘अहिले त्यसैको प्रभाव परेको देखिन्छ।

लगानीकर्ताले राम्रो नराम्रो सबै कम्पनीको शेयर किनेर राखेको हुनाले गर्दा नराम्रो कम्पनीको सेयर राखेर कर्जा नपाइने अवस्था आएपछि मौद्रिक नीति पछि शेयर बजार घटेको नेपालको बुझाइ छ ।

लगानीकर्ताले बजेट पछाडि मौद्रिक नीतिलाई पर्खिएको तर खास त्यस्तो कुनैपनि कुरा मौद्रिक नीतिमा नआएकाले बजार घटेको पाही इन्भेष्टमेण्ट प्रालि (ब्रोकर नम्बर ७६) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल धिताल बताउँछन्।
‘खास मौद्रिक नीतिमा सेयर बजारको लागि केही पनि आएन, धितालले भने,अहिले लगानीकर्ता धितोपत्र बोर्डतिर हेरेर बसेको अवस्था छ।

नेप्सेमा भएको ट्रेन्ड हेर्दा पनि धितालले भनेको कुरा मेल खान्छ। बजेटअघि र मौद्रिक नीति आउनु अघिल्लो दिनसम्म उत्तारचढावकाबीच नेप्से जम्मा २१ अङ्कले मात्र घटेको छ। तर मौद्रिक नीति आए यता मात्र ३ दिन कारोबार हुँदा नेप्से पूरै ५१ अङ्कले घटेको देखिन्छ।

मौद्रिक नीतिले सेयर बजारको लागि राम्रो कुरा केही पनि नआए पनि नराम्रो समेत नआएको कारणले गर्दा अहिलेको घटाइको कारण मौद्रिक नीति मात्र भन्न नमिल्ने अध्यक्ष पाण्डेको भनाई छ। बजार २ हजार ६ सयको आसपासमा आएपछि लगानीकर्ताले स्टप प्लस गर्न थालेका कारणले पनि बजारमा प्रेसर आएको पाण्डेको भनाई छ।

‘असार मसान्त क्लोजिङको बेला भएकाले गर्दा लगानीकर्तालाई बेच्नुपर्ने प्रेसर परेको पनि छ। ब्रोकरहरुले सेटलमेन्ट गर्न बेच्नका लागि भनेको अवस्था छ’, पाण्डेले भने, ‘अहिले ब्रोकरले पनि लिमिट नदिएको कारणले गर्दा पनि घटेको हो।