चीनबाट फर्किए ४४ नेपाली कामदार

काठमाडौं, साउन १२ । चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिसङ गार्मेन्ट कारखानामा कार्यरत सबै नेपाली कामदार शनिबार नेपाल फर्किएका छन् । दालियान विमानस्थलका तीनवटा फरक उडानबाट ४४ जना महिला कामदार स्वदेश फर्किएका हुन् ।

 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार करार सम्झौताअनुसार गार्मेन्ट कारखानाले तलब सुविधा नदिएपछि कामदार नेपाल फर्किएका हुन् । नेपाल र चीनका सरकारी निकायको समन्वय र नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनीको खर्चमा कामदारलाई फर्काइएको हो । सबै कामदार चीनको कुन्मिङ र ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।

 

चीनको उत्तरपूर्वी भेगमा अवस्थित ल्याओनिङ प्रान्तको सो गार्मेन्ट कारखानाले नेपाली दूतावासमार्फत कामदार माग गरेपछि गत मे महिनामा नेपाली कामदार त्यहाँ पुगेका थिए । दूतावासले प्रक्रिया अघि बढाएपछि वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी कामदार गार्मेन्ट कारखानामा आबद्ध भएका थिए । दान्दोङ रिसङ गार्मेन्ट कारखानाले ३ सय कामदार माग गरेकोमा दूतावासले पहिलो चरणका लागि ५० जनाको स्वीकृति दिएको थियो ।

 

बेइजिङस्थित नियोग उपप्रमुख सुशीलकुमार लम्साल नेतृत्वको टोलीले सो कारखानाको समग्र वस्तुस्थिति नियालेपछि चीनमा कामदार लाने बाटो खुला भएको हो । सो कारखानाले यसअघि उत्तर कोरियाली कामदारलाई रोजगारको अवसर दिने गरेको बताइएको छ । यो खबर नेपाल समाचारपत्रमा छ ।