मिटरब्याजी रामबाबु राय यादव पक्राउ

 काठमाडौ,पाैष २३। प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको  बताए । उनले भने, ‘पक्राउ गरेर प्रारम्भिक अनुसन्धान थालिसकेका छौं ।’ घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् । उनी स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए । तर, ९ हजार ९ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहे भने तत्कालीन माओवादी केन्द्रका देवानन्द महतो ७ हजार ३ सय ८ मत ल्याएर मेयरमा निर्वाचित भए ।

 

यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।

 

उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।

 

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।

 

यो घटनाका पीडित पनि जिल्ला नेताको सहयोगमा काठमाडौं आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेपछि प्रहरीले पक्राउ गरेको थियो ।अनलाइनखबर बाट,