अग्रवालविरुद्ध मुद्दा नै मुद्दा, तर पनि किन छुटे ?

काठमाडौं,बैशाख १९ । जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पुनः पक्राउ परेका उद्योगी सुलभ अग्रवाल बिहीबार साँझ रिहा भएका छन् । अग्रवाललाई विभागले आवश्यक बयान लिएर तारेखमा छोडेको हो।

 

कोरोना भाइरसको बढ्दो संक्रमणका बेला ‘थर्मल गन’को कालोबजारी गरेको अभियोगमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

 

अदालतको आदेशमा धरौटी बुझाएर छुटेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई पुनः पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गरेको थियो । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अग्रवालका सबै वैध तथा अवैध सम्पत्तिमाथि छानबिन थालिएको जानकारी दिए।

 

‘उनी र उनीसँग सम्बन्धित सबै कम्पनी र व्यक्तिमाथि छानबिन थालिएको छ,’ विभागका महानिर्देशक भट्टराईले राजधानीसँग भने । विभागले बिहीबार नै अनुसन्धान अधिकृत तोकेर अग्रवालमाथिको छानबिन अघि बढाएको जनाएको छ।

 

निजी क्षेत्रसँग सम्बन्धित अकुत सम्पत्ति आर्जनको छानबिन सम्पत्ति शुद्धीकरणले विभागले गर्दै आएको छ । सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धानले हेर्ने गरेको छ । यसैगरी, उनीमाथि राजस्व अनुसन्धान विभागले समेत छानबिन गर्नेछ।

 

सरकारी वकिल कार्यालयले थर्मल गनको बिलबारे अनुसन्धान गर्नुपर्ने भएकाले राजस्व अनुसन्धान विभागलाई आवश्यक छानबिन गर्न यसअघि नै पत्राचार गरेको थियो । राजस्व छली भएको पाइएमा उनलाई राजस्वअन्तर्गत समेत मुद्दा चल्नेछ।

 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १५ मा विभागका प्रमुखले अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्ने व्यवस्था रहेको छ । त्यसैअनुरूप विभागले अनुसन्धान अधिकृत तोकेर अग्रवालमाथि छानबिन अघि बढाएको हो ।

 

यसअघि अग्रवालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो ।

 

यस्तै, अग्रवालविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरेको मुद्दामा पनि कारबाही हुनेछ । कालोबजारी गर्ने क्रममा अग्रवालले नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतका रूपमा प्रयोग गर्ने कूटनीतिक नियोगको गाडी प्रयोग गरेका थिए ।

 

अग्रवाललाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले नक्सालबाट ६७ वटा थर्मल गन १५ हजार रुपैयाँ प्रतिथानमा बिक्री गर्न लाग्दा पक्राउ गरेको थियो । सो बखत प्रहरी आफैं ग्राहक बनेर थर्मल गन किन्न पुगेको थियो । २४ सयमा चीनबाट ल्याएको थर्मल गन उनले १५ हजार रुपैयाँमा बेच्न लागेका थिए ।

 

प्रहरीले कूटनीतिक नियोगको गाडीसहित अग्रवाललाई रंगेहात पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चीनबाट अग्रवालले १२ सय थान थर्मल गन ल्याएको पुष्टि भए पनि उनले बाँकी थर्मल गन के गरे भन्ने विषय अझै पनि अनुसन्धान भइरहेको छ ।

 

एक वर्षसम्म कैद सजाय भएको कसुरको सुनुवाइ जिल्ला प्रशासनले गर्ने गर्छ । तर, उनी किर्गिस्तानको अवैतानिक दूत पनि भएको हुँदा सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि आकर्षित हुने भएकाले कालोबजारीसम्बन्धी मुद्दा जिल्ला अदालत पुगेको थियो तर जिल्ला अदालतले पनि पुर्पक्षमा पठाउनुको साटो धरौटीमा छोड्नुले विभिन्न आशंका सिर्जना गरेको छ ।

अग्रवाल सम्बद्ध सबै उद्योगमाथि छानबिन हुने

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोकेर नै अग्रवाल सम्बद्ध सबै कम्पनी र उद्योगमाथि छानबिन थालेको छ । अग्रवाल मुलुकको औद्योगिक घराना शंकर ग्रुपका उपाध्यक्ष हुन् । शंकर ग्रुपले जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, जगदम्बा वायरलगायत दुई दर्जनभन्दा बढी सामग्रीको व्यवसाय गर्दै आएको छ । यी सबै उद्योगमाथि छानबिन गरी अग्रवालको सबै सम्पत्तिको खोजतलास गरिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।राजधानी दैनिकमा खबर छ।