सीडीओले क्वारेन्टाइनलाई जेल देखे

नेपालगन्ज,जेठ २१ । बाँकेका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’

 

सीडीओ कुरुम्बाङ राति ९ बजे डुडुवा गाउँपालिका–४ स्थित आधारभूत विद्यालय शाहपुर्वा पुगे । उनले पाएको खबर सत्य सावित भयो । आरडीटी पोजिटिभ आएका २० र पीसीआर पोजिटिभ भएका ८ व्यक्तिलाई एउटै कोठामा राखिएको थियो । उनले यसरी राख्नु गम्भीर त्रुटि भएको बताए । क्वारेन्टाइन व्यवस्थापन गर्ने टोलीलाई अलग स्थानमा व्यवस्थापन गर्र्न निर्देशन दिएर उनी फर्किए ।

 

जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो ।

 

उनी सोही दिन जिल्लाको कोरोना रेड जोन नरैनापुर घुमेर फर्किएका थिए । विद्युत् सेवासमेत नपुगेको नरैनापुरका १५ वटा क्वारेन्टाइनको अवस्था त झन् बिजोग थियो । उनले भोलिपल्ट स्थानीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘यहाँका क्वारेन्टाइन मापदण्डअनुरूप छैनन् । त्यो जेलजस्ता छन् ।

 

उनले खानेबस्ने व्यवस्था राम्रो नभएको प्रतिक्रिया दिएका थिए । उनी अझै भन्छन्, ‘मापदण्ड त के पुग्थ्यो र कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ । जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएको छैन ।

 

जिल्लामा सबैभन्दा धेरै संक्रमित नरैनापुर गाउँपालिकामा छन् । नरैनापुर देशमै सबैभन्दा बढी संक्रमित भएको स्थानीय तह हो । १ सय १८ जना संक्रमित ९एक जनाको मृत्यु० मध्ये वडा नम्बर ५ का मात्र झन्डै आधा छन् । त्यसमा पनि भोजभगवानपुरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेकामध्ये झन्डै आधा अर्थात् २८ जनामा संक्रमण पुष्टि भयो । सोही क्वारेन्टाइनमा बसेका २५ वर्षका युवाको कोरोनाबाट ज्यान गयो । नरैनापुरमा एक प्लाटुन सेनाले अस्थायी क्याम्प बनाएर क्वारेन्टाइनको सुरक्षा गरिरहेको छ । डुडुवाको शाहपुर्वाको विद्यालयलाई आइसोलेसन बनाइएको छ ।

 

प्रेस संगठन बाँकेले जेठ १६ गते अपराह्न १ बजे सीडीओ कुरुम्बाङसँग भर्र्चुअल प्रेस मिट राखेको थियो । त्यही बेला राप्तीसोनारी–८ को क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोरोना रिपोर्ट नआउँदै घर पठाएको खबर आयो । उनी पत्रकार सम्मेलन छाडेर त्यतै लागे । राप्तीसोनारी–८ शमशेरगन्जस्थित शिवशक्ति माविको क्वारेन्टाइनमा रहेका ३० जनालाई अपराह्न ४ बजे बिदाइ कार्यक्रम गरेर घर पठाइयो । त्यही साँझ ७ बजेतिर क्वारेन्टाइनमा बसेका सात जनाको रिपोर्ट पोजिटिभ आयो ।अन्नपूर्ण पोष्टमा खबर छ।