उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण,सुधारमा अझै केही दिन लाग्ने

काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रको वायु प्रदूषणमा अझै सुधार आउन सकेको छैन।प्रदूषित वायुमा खतरा तह केही घटेपनि काठमाडौं उपत्यकासहित देशमा केही शहरमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

अझै काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिमरा, हेटौंडासहितका क्षेत्रको वायु मानव स्वास्थ्यका लागि घातक अवस्थामा छ । शुक्रबार र हिजो विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरको सूचीमा पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौं आज ११औं स्थानमा झरेको छ ।

 

वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहानको मापनमा आज सबैभन्दा धेरै प्रदूषण सिमरामा देखिएको थियो । यस्तै काठमाडौं उपत्यकाको हावाको गुणस्तर ३३२ एक्यूआई थियो । २ सयभन्दा धेरै हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारक मानिन्छ ।

 

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।

 

स्थिर रहेको वायुमण्डल आगामी दुई/तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। । तुवाँलोका कारण भएको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर हुने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ।

 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३ सय भन्दा बढि भए मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ।