प्रतिनिधिसभा बैठक आज बस्दै,बैठक सामान्य प्रतिवेदन पेशमै सीमित हुने

काठमाडौं,चैत २३ । प्रतिनिधिसभाको बैठक आज बस्दै,सरकारले विजनेस नदिँदा आजको बैठक पनि सामान्य प्रतिवेदन पेशमै सीमित हुने भएको छ ।

 

संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्‍ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ ।

 

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यक्रम छ ।

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

 

सरकारले प्रतिनिधिसभा प्रभावकारी बन्न नसकेको भन्दै चालु हिउँदे अधिवेशन अन्त्यको गृहकार्य समेत गरेको छ ।