आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

काठमाडौं। पूर्वी चितवनको राप्ती नगरपालिकामा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

 

जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियो। आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

 

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

 

काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।

 

 

घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।