१२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने

बैतडी ।बैतडीमा १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको छ भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो ।

 

 

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

 

 

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ४ गतेदेखि मोर्डना खोप दिइने भएको हो ।

 

 

बैतडीमा उक्त उमेर समूहका ३५ देखि ४० हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयको अनुमान रहेको छ । खोप अभियानलाई प्रभावकारी बनाउन विषयमा बैठकसमेत बोलाइएको छ ।

 

 

स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुसँग भर्चुअल मिटिङ बोलाएको हो । स्वास्थ्य शाखा प्रमुखहरुसँगको मिटिङपछि कुन–कुन पालिकामा कहिले र कुन ठाउँमा खोप लगाउने भन्ने बिषयमा यकिन हुने जनाइएको छ ।

 

 

मोर्डना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बैतडीमा अहिलेसम्म ९० हजार नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् भने ६० हजार नागरिकले पूर्ण खोप लगाएका छन् ।

 

 

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।