वीरेन्द्र क्याम्पसमा नारीदिवसको अवसरमा समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

 चितवन। ११२ औअन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा एक वृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
 
 
“सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता” भन्ने विषयमा आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजका अध्यक्ष प्रेम कडेल, प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवम् महिला अधिकारकर्मी अभियान्ता फूलमाया रानाभाट, विशिष्ट अतिथि क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेल , विशेष अतिथि समाजशास्त्र विभागिय प्रमुख उपप्राध्यापक केशवराज सापकोटा , अतिथिहरु गंगाप्रसाद सापकोटा , शरदचन्द्र काफ्ले , हरिप्रसाद उपाध्याय, होमनाथ अधिकारी , रमेश काफ्ले , कृष्णकान्त पौडेल , अर्जुन प्रसाद पौडेल , राजेन्द्र गिरी, शिरोमणि पराजुली लगायत समुपस्थित हुनुहुन्थ्यो।
 
 
 
 
समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजका सह- सचिव अनुराधा महतले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत समाजशास्त्र तेस्रो सेमेस्टरका विद्यार्थी सम्झना पौडेलले गर्नुभएको थियोे।
 
 
 
 
कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले नारी सर्वते पुज्यते भन्ने पूर्विय दर्शनअनुसार अविकसित मुलुकमा भएको लैंगिक हिंसाको अन्त्य गर्न घरपरिवार ,सन्तति सबै सबैमा सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्नुपर्ने र यस्ता कार्यक्रमले समाजशास्त्रका विद्यार्थीको विचारको अनुहार परिवर्तन हुने आशा व्यक्त गर्दै कार्यक्रमको आयोजनाको खुलेर प्रशंसा गर्नुभयो।
 
 
 
 
कार्यक्रमका विशेष अतिथि उप प्राध्यापक समाजशास्त्र विभागिय प्रमुख केशवराज सापकोटाले अठारौं शताब्दीबाट चलेको महिला आन्दोलनबाट शुरुआत भएर दोस्रो चरणमा महिला मुक्ति आन्दोलन हुँदै तेस्रो चरणमा पितृसत्तात्मक सोचको अन्त्यपछि मात्रै लैंगिक समानता आउने धारणा विकास भएको बताउनु भयो।
 
 
 
 
 
रुसोले दायित्वको बारेमा व्यक्त गरेको प्रत्येकको सबैसँग र सबैको प्रत्येकसँग जिम्मेवारी रहने विचारले महिलाप्रति समान दृष्टिकोण राखेको धारणा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान परिप्रेक्षमा कार्यक्रम आयोजना समय सान्दर्भिक रहेको विचार राख्नु भयो।
 
 
 
 
अतिथि एवम् अधिवक्ता रमेश काफ्लेले नेपालको महिलावादी आन्दोलनको व्याख्या गर्दा सामाजिक संरचनालाई हेर्नुपर्ने बताउदै विश्वव्यापी परिप्रेक्ष्यमा पारिवारिक व्यवहार परिवर्तन गर्दै महिला अधिकार स्थापित गर्न सकिने बताउनुभयो ।
 
 
 
 
 
 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता फूलमाया रानाभाटले सांस्कृतिक, राजनैतिक , सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको, कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताउनुभयो।
 
 
 
नेपालमा २०५९ सालदेखि नै कानुनमा छोरीहरुले अंश पाउने व्यवस्था उल्लेख भएको, मुख्यतः दृष्टिकोणमा समानता निर्माण गर्ने विषय महत्त्वपूर्ण रहेको , समान वंशिय हकको व्यवस्था कानुनले गरेको र दाईजोरहित समाज निर्माणमा जोड दिदै समानताको चिन्तन घरबाटै शुरुआत गर्नुपर्नेमा धारणा राख्दै पतिवादी पुरुष मानसिकताको अन्त्य समाजबाट गराउन बौद्धिक जमात कटिबद्ध भएर लाग्नुपर्ने अहिलेको नेपाली समाजको आवश्यकता रहेको विषय प्रष्ट पार्नुभयो ।
 
 
 
 
कार्यक्रममा समापन मन्तव्य राख्दै समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजका अध्यक्ष प्रेम कडेलले पुरुषवादी चिन्तनलाई जरैदेखि उखेलेर घरबाटै समानता सिक्ने सिकाउने र विश्वविद्यालयमा प्राध्यापक र अनुसन्धानकर्ता सबै सबैले सिक्ने सिकाउने वातावरण तयार गरेर दिगो विकास सम्भव हुने विचार राख्नुभयो।
 
 
 
 
कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक आभार एवम् धन्यवाद दिदै आगामी दिनमन सामाजिक न्याय र लैंगिक समानतासहितको दिगो विकाश सम्भव हुने कुरामा दुई मत नरहेको विचार राख्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।