शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले दियो नगरका विद्यालयलाई बस

काठमाडौं। नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।

 

 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो ।

 

 

सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ ।

 

“हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भने, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ ।

 

 

 

नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो ।

 

 

 

नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् ।

 

 

 

 

वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् ।

 

 

 

विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।