साहित्यकार पार्वती शाहीको कथासंग्रह ‘पहिलो रात’ लोकार्पण

काठमाडौं । सहित्यकार पर्वती शाहीको कथासंग्रह ‘पहिलो रात’ आज एक समारोहका बीच लोकार्पण भएको छ। शिखा बुक्स प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकमा १२ वटा कथा संग्रहित छन्।

 महेशविक्रम शाहको प्रमुख आतिथ्यमा प्रज्ञा भवन कमलादीमा आयोजित लोकार्पण समारोहमार्फत कथासंग्रह ‘पहिलो रात’सार्वजनिक भएको हो।

सार्वजनिक कथासंग्रहमा सहित्यकार शाहीले कथामा सुदूरपश्चिमेली सामाजिक परिवेशलाई कलात्मक ढंगले चित्रण गरेर आफ्नो जीवनको भोगाइ,महिला सशक्तिकरण लगायतका अनुभूतिहरु अभिब्यक्त गर्नुभएको छ।

शाहीले कथासंग्रहमार्फत युवा जनशक्तिलाई सकारात्मक सोच राखी अग्रसर हुन आग्रह समेत गर्नुभएको छ। डँडेल्धुराको विकट गाउँमा जन्मेकी शाही हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका -२ मा बासोबास गर्दै आउनु भएको छ।

कथामा चित्रण गरिएका पात्र तथा परिवेशले पाठकलाई सुदूरपश्चिमेली आञ्चलिक स्वाद उपलब्ध गराउँछ। कथा जति रोमाञ्चक छन्,उत्तिकै कारुणिक पनि छन्।

पात्रमार्फत सुदूरपश्चिमेली सामाजिक संरचनाभित्र रहेका कुरीति, थिचोमिचो, अपहेलना, तिरस्कारजस्ता सामाजिक समस्या लेखकले मौलिक ढंगले प्रस्तुत  गर्नुभएकाे छ। त्यसो हुँदा कथामा चित्रण गरिएका पात्रमार्फत पाठकले सुदूरश्चिमेली समाजको वास्तविकतालाई नजिकबाट बुझ्न अझै सजिलाे हुन सक्ने देखिन्छ।

 आञ्चलिक स्वादले भरिएका कतिपय कथा पढेपछि त्यहाँका पात्र,उनीहरूका पीडा र अनेक उल्झनमा जिउन बाध्य परिवेश,सामाजिक संरचनामा सामन्ती सोच एवं ठूलाबडाको हैकम विद्यमान रहेको अनुमान गर्न सकिन्छ।

सुदूरपश्चिमेली समाजमा अझै पनि छाउपडी प्रथा जीवित छ। ठूलाबडाले समाजको पिँधमा रहेका निमुखामाथि गर्ने थिचोमिचो त्यहाँको समाजमा अझै पनि हट्न सकेको छैन। महिलामाथि हुने सामाजिक हिंसा अझै विद्यमान छन्। पर्वती शाहीको कथामा यी पक्ष सशक्त ढंगले उजागर भएका देखिन्छन्।

कथा संवेगात्मक छन्, भावप्रधान छन्, र, बोधगम्य पनि छन्। सुदूरपश्चिमेली समाजको मसिनो पक्षलाई समातेर गम्भीर विषयवस्तु उठान गर्न सक्नु कथाकारको मौलिक खुबी मान्न सकिन्छ।

कथामा उठान गरिएका समाज समस्या जति जटिल लाग्छन्, प्रस्तुति उत्तिकै सरल र सभ्य छन्। त्यसो हुँदा जोसुकै पाठकलाई पुस्तकमा संग्रहित कथाले मन छुन सक्छ, कथामा विद्रोही चेत भेटिँदैन। तर परिवर्तनको चाहना भने कथामा भेटिन्छन्। 

शाहीले आफ्नो पहिलो कृति प्रकाशित गर्नुभएको छ।सबैले दिएको सुझाब सल्लाहलाइ आत्मसाथ गर्दै आगामी दिनमा पनि कथासंग्रहहरू प्रकाशित गर्ने बताउनुभयो। शाहीको पहिलो कृति ‘पहिलो रात’ सिखा बुक्सले प्रकाशन गरेर बजारमा ल्याएको हो।

लोकार्पण कार्यक्रममा विभिन्न वक्ताहरूले बाेल्ने क्रममा ‘पहिलो रात’ कृतिले जोसुकै पाठकलाई पुस्तकमा संग्रहित कथाहरूले  मन छुने बताएका छन्।