छात्रबृत्ति नबुझाउने विद्यालयलाई १ लाख जरिवाना हुने

काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ।

उपमहानगरपालिकाको शिक्षा शाखाको बैठकले छात्रवृत्ति विवरण नबुझाउने १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो।

जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन्। बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नम्बर ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नम्बर १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल,वडा नम्बर ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल,वडा नम्बर १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नम्बर ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन्।

यस्तै,आधारभूत तहकै वडा नम्बर २० को इन्द्रेणी स्कुल,वडा नम्बर १० मा सञ्चालित इटहरी नमुना स्कुल,वडा नम्बर १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नम्बर १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन्। यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नम्बर १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नम्बर ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नम्बर ४ को इटहरी मोडल सेकेण्डरी स्कुलले पनि छात्रबृत्ति विवरण बुझाएका छैनन्।

वडा नम्बर ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नम्बर २ को लिटिल केयर बोडिङ् स्कुललाई १ लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको शाखाले जनाएको छ।

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको जानकारी दिए।