देशभर डेंगु संक्रमितको संख्या १४ हजार ३५७ पुग्यो

काठमाडौं। यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगु संक्रमित थपिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै यो वर्ष नेपालमा डेंगु संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ। गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ। डेंगुबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन्।

कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन्। काठमाडौँ उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ।

उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ। सुनसरी, मोरङ, धादिङ,झापा,कास्की,धनकुटा,काठमाडौँ,ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ।

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ। रातको समयमा भने यसको खासै जोखिम हुँदैन।

अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ। खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगु लाग्छ भन्ने होइन। संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगु लाग्नसक्छ।

संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउँछ। टाउको दुख्छ। वान्ता हुने,चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुष हुनेगर्छ।

आफ्नो घर, कार्यथलो आसपासमा राम्ररी सरसफाई गरेमा यो लामखुट्टे फैलन पाउँदैन। खासगरी पानीको ट्यांकी,ड्रम,बाल्टिनलाई राम्ररी छोप्ने ताकि, त्यहाँ यो लामुखट्टे छिर्न नसकोस्।