बाँके दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।

कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू, बसका चालक बर्दियाको ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बर्दियाको बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको पनि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक दर्जनको अवस्था गम्भिर रहेको बताइएको छ। घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा दुर्घटना भएको हो।