देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन्।

बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका हुन्।

उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको बताए। उनले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे।

उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद पक्ष भएको बताए।

उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए।

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास सुरु भएको पनि उल्लेख गरे। उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए।

उनले पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत गरे।महामन्त्री थापाले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए।