कपिलवस्तुमा प्रहरीकै सेटिङ्गमा मौलाउदै तस्करी

काठमाडाैं। कपिलवस्तुका विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी मार्फत सामान भित्रन थालेको छ। भन्सार छलेर भारतबाट विभिन्न सामान तस्करी गर्ने क्रम बढेपनि नियन्त्रणमा पहल नहुँदा लाखौं रुपैयाँ राजश्व चुहावट भइरहेको छ।

रूपन्देही जिल्लामा प्रहरी प्रशासनको सक्रियताका कारण केही मात्रामा कडाइ भएपछि तस्करले कपिलवस्तु र नवलपरासीको सीमा क्षेत्रलाई आधार बनाएर तस्करी गरिरहेका छन्। तर, यस्तो तस्करीलाई प्रहरीले भने नदेखेझैं गरिरहेको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका चाकडचौडामा छोटी भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा चेक पोस्ट (बीओपी) पनि छ। सशस्त्र प्रहरीको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो। तर, ठाउँ-ठाउँमा बीओपीहरू भएपनि तस्करी रोक्ने कार्य गरेको भने पाइँदैन।

तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र भन्सार कर्मचारी संयुक्त टोली बनाएर बस्ने गर्छन्। तस्करले सामान ओसार पसार गरिरहेका हुन्छन्, तर सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरू त्यो सबै नदेखेझैं गरी घाम तापेर बस्छन्। अनि तस्करहरूले खुलेआम तस्करी गर्छन्।

भारतीय सीमाबाट करिब ५०० मिटर दूरीमा चामलका गोदामहरू छन्। ती गोदाम सञ्चालकले प्रहरी र भन्सारका कर्मचारी अगाडिबाटै क्यारियर गराएर सामान ल्याउँछन्। गोदाम बाहिर काँटा राखेर तौल गर्दै बोरा प्याकिङ गरिरहेको दृश्य हरेक दिन देखिन्छ।

यसरी चौबीसै घण्टा खुलेआम तस्करी भइरहँदा प्रहरी प्रशासनले सोधपुछसमेत गर्ने गरेको छैन। मिलेमतोमा भएको तस्करीका कारण तस्करहरूले ढुक्क भएर सामान ओसारपसार गरिरहेको स्थानीय बताउँछन्‌। तस्करले बाहिर चामल मिल, चामल उद्योग जस्ता साइनबोर्ड लगाएका छन्। तर त्यहाँ न चामल उद्योग छ, न त कुटानीपिसानी गर्ने मेसिन नै ?

बाहिर बोर्ड झुण्ड्याउँदै सडक छेउमा डिजिटल काँटा राखेर भारतबाट आयातित चामल तौल गर्ने र नेपालको ब्राण्ड प्रिन्ट गरिएका बोरामा प्याकिङ गरेर ट्याक्टरमा लोड गर्ने कार्य त्यहाँ भइरहेको जो-कोहीले हेर्न देख्न सकिन्छ।

चामल उद्योग दर्ता गरेका ती व्यापारीले नेपालको बिल बनाएर बिक्रीका लागि ट्याक्टरमार्फत कपिलवस्तुको चार नम्बर, अर्घाखाँची, प्युठान, बुटवल र पाल्पा लगायत स्थानमा त्यो चामल पुर्‍याउने गरेको स्रोतको दाबी छ।

कपिलवस्तुकै महाराजगन्ज र हर्दनाबाट कुखुरा तस्करी भइरहेको छ। तस्करले प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी तस्करी गरिरहेका छन्। यस क्षेत्रमा पनि चौबीसै घण्टा सुरक्षा फौज बस्ने गर्छ,तर तस्करले जिउँदादेखि काटेको कुखुराको मासु निर्वाध ओसारपसार गर्छन्।

कृष्णनगरको दालपुर क्षेत्रबाट चिनी, खसी, माछा र रासायनिक मल तस्करी भइरहेको छ। तस्करले एउटा मोटरसाइकलमा चार वटासम्म बोरा राखेर रासायनिक मल भित्र्याउने गरेका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कपिलवस्तुमा चोरी तस्करी मौलाएको स्वीकार गर्दै व्यवसायीसँग बुझ्दा पनि तस्करी भइरहेको पाएको बताए। खुला सिमानाका कारण धेरै ठाउँबाट तस्करी भएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ।

मूल्यमा अन्तर परेपछि घरायसी प्रयोजनका निम्ति मात्रै नभई व्यापारीहरूले लुकाई छिपाइ नाका छलेर ठूलो परिमाणमा चिनी,चामल,दाल, आलु,प्याज ल्याउने गरेको स्थानीय प्रवीण कुमार पाण्डे बताउँछन्।

ग्रामीण भेगको नाकातिर रहेका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर सामान अवैध रूपमा ओसारपसार गर्ने गरेको स्थानीय केदारनाथ शुक्लाले बताए।

सीमा क्षेत्र नजिक गल्ला भन्डार दर्ता गराई सीमा पारीबाट चामल,दाल,धान,गहुँ, इत्यादिलाई अवैध रूपमा भित्राई सोही गल्ला भण्डारबाट वैद्य रूपमा बिल बिजक बनाई वैध गराउने गरेको स्थानीय मोहम्मद हुसेनले बताए।

एकातिर स्थानीयहरूले चोरी तस्करी मौलाएको बताइरहँदा अर्कोतिर कपिलवस्तु जिल्लाका प्रहरी प्रमुख नवरत्न पौडेलले चोरी तस्करी न्यूनीकरण भएको दाबी गरे।

उनले हालै मात्र पनि ठूलो मात्रामा चामल,प्याज लगायतका बस्तुहरू पक्राउ गरिएको र आफूहरूको पछिल्लो सक्रियतालाई स्थानीयहरूले ‘बढी कडाइ भयो’ भन्दै गुनासो समेत गर्न थालेको बताए।

भारतबाट आउने सामान चोरी तस्करी नियन्त्रणका लागी प्रहरी टोली खटाएको प्रहरी प्रमुख पौडेलको दाबी छ। उनले भने, ‘चोरी पैठारी नियन्त्रणमा हामी शून्य सहनशीलताको नीतिका साथ अगाडी बढेका छु। त्यसैले तस्करीको सम्भावना कम्तीमा कपिलवस्तुमा चाहिँ छैन।

तर प्रहरीको मात्र पहलमा तस्करी नियन्त्रण सम्भव नहुने हुँदा अन्य सरोकारवाला निकाय जस्तै सशस्त्र प्रहरी, भन्सार कार्यालय आदिको भूमिका समेत निर्णायक हुने उनले बताए।

उनको जस्तै भनाई प्रमुख जिल्ला अधिकारी अर्यालको पनि छ। उनी भन्छन्,सबै निकाय मिलेर गए मात्रै तस्करी रोक्न सकिने हुँदा म त्यो पहल गरिरहेको छु।

भारतीय नाकाबाट तस्करी बढ्दै गएपछि कपिलवस्तुको सीमा क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ। नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने गरेको छ।प्रहरी इकाइले जति कडाइ र सतर्कता अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सीमा नाकामा सुरक्षा चिन्ता बढेको स्थानीयले बताउने गरेका छन्।