क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्दै

काठमाडौं। क्यानडा–११ विरुद्धको तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा क्यानडा–११ ले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ। आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । त्यसैले नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन्।

पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो।

तेस्रो खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे सुरु हुनेछ । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।