वाफ वुमन्स च्याम्पियनसिप: उपाधिका लागि नेपालले आज जोर्डनसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक छ। साउदी अरेबियामा आज नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ।

नेपाल र जोर्डन दुई फरकस्तरका टोली हुन्। पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले फाइनलमा त्यस्तो प्रतिस्पर्धी पाएको छ, जसले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ भने डिफेण्डिङ च्याम्पियन समेत हो।

अर्कोतर्फ यस प्रतियोगिता खेलेका ८ टिममध्ये जोर्डन सबैभन्दा माथि ७३औं स्थानमा छ। नेपाल भने १०५ औं स्थानमा छ।

सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो ।

जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप समेत खेलेको थियो। यस्तै तीनपटक एसियन गेम्स खेलेको छ।

नेपालले भने अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुद हो। असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा नेपालले विश्वकप खेलिसकेको जापान र भियतनाम जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो।

नेपालले एएफसी वुमन्स कप भने खेलेको छैन ।

जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

यद्यपि नेपाली टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी साम्बा भने फाइनल खेलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी सावित्रा फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी हुन् ।

युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्रा नेपाली राष्ट्रिय टिमले आफैं इतिहास बनाउन लाग्दा भने टिमसँग नहुने भएकी हुन् ।

सावित्रा नभए पनि फुटबल टिम गेम भएकोले नेपाली टिमका अन्य खेलाडीहरुका लागि अब सावित्रा जस्तै चम्कने अवसर समेत छ ।

सावित्राले समूह चरणमा सिरियाविरुद्ध १, इराकविरुद्ध ४ तथा प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरेकी थिइन्।

सावित्रापछि नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी छन्। अमिसा कार्की, अनिता बस्नेत, प्रीति राई र गीता रानाले समान एकरएक गोल गरेका छन् ।

नेपाल र जोर्डनको फाइनल यात्रा

नेपाल र जोर्डन फाइनलसम्म आइपुग्दा अपराजित छन्। दुवैले खेलेका चारै खेल जितेका छन्।

नेपालले अहिलेसम्म १५ गोल गर्दा २ गोल बेहोरेको छ। समूह चरणमा नेपालले सिरियालाई ४-१ ले, इराकलाई ५-० ले तथा प्यालेस्टाइनलाई ४-० ले पराजित गरेको थियो।

यस्तै सेमिफाइनलमा लेबनानविरुद्ध एक गोलले पछि पर्दै पुनरागमन गरेर २-१ ले खेल जितेको थियो।

उता जोर्डनले जम्मा एक गोल मात्र बेहोरेको छ भने १३ गोल गरेको छ। जोर्डनले साउदी अरेबियालई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो। सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० ले पराजित गरेको थियो।

जारी प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले सर्वाधिक ९ गोल गरेकी छन्। यस्तै जोर्डनकी मायसा जेबाराहले ५ तथा ग्वामकी मारिएह र लेबनानकी लिली स्कान्दरले समान तीनरतीन गोल गरेका छन्।