गठबन्धन टुट्दा गगन खुशी,चुनाव अघि गठबन्धन कसैले पनि गर्नु हुँदैन्

फाइल तस्वीर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्। उनले गठबन्धन टुटेकोमा आफूलाई खुसी लागेको समेत बताए।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेत खुलेसँगै अब चुनावअघि गठबन्धन नहुने बताए।

नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने भन्दै उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए। उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताउँदै अब निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको तर्क गरे।

‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ। यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला, उनले भने,एउटा कुरा मलाई खुशी लागेको छ।

यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने। खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो। नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो।

त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो। थप खोक्रो बनाउँथ्यो। अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन।

किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ। यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ। नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ। यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ।

महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको समेत बताए। प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताउँदै उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने समेत बताए।