पार्टी एकताको चर्चाबारे माधव नेपालद्वारा खण्डन

फाइल तस्वीर

काठमाडौं। पार्टी एकताको चर्चाबारे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खण्डन गरेका छन्। उनले सत्ता समीकरण परिवर्तनसँगै चलेका चर्चाहरु खण्डन गर्ने गरी अन्तरपार्टी निर्देशिका (अपानि) जारी समेत गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आइतबार अपानि–१४ जारी गरी गर्दै पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न निर्देशन दिएका छन्। अचानक सत्ता परिवर्तनका कारणले नेतृत्वको ध्यान त्यसतर्फ गएपनि कार्यकर्ता पंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन अध्यक्ष नेपालले निर्देशन दिएका छन्।

अपानिमा भनिएको छ,अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वभाविक हो। त्यसले हाम्रो अभियान र महाधिवेशन प्रभावित पार्न हुँदैन भन्नेमा सम्पूर्ण पार्टी पंक्ति स्पष्ट हुनुपर्छ।

राष्ट्रिय राजनीतिमा एउटा सत्ता गठबन्धनको साटो अर्को गठबन्धन आउने बाहेक अरु कुनै घटनाक्रम नभएको अध्यक्ष नेपालले प्रष्ट पारेका छन्।

सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धन सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ,अपानिमा लेखिएको छ, ‘हाम्रा मन्त्रीहरुबाट परिणामुखी काम होउन्,सरकारले राम्रो काम गरोस्,जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियो भनेर हामीले प्रयास गर्नुपर्छ।

गत २१ फागुनमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता बाक्लिएको छ।

यी घटनाक्रमलाई लिएर एमाले र एकीकृत समाजवादी एकतासम्म पुग्ने तयारी भएको हुनसक्ने आशंका थियो। तर त्यस्तो आशंका खण्डन गर्नेगरी अध्यक्ष नेपालले अपानि जारी गरेका छन्।

हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ। तर कुनैपनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ,अपानिमा भनिएको छ।

एकीकृत समाजवादीका एक पदाधिकारी पार्टी एकतातर्फ उन्मुख भएको भन्ने चर्चा खण्डनकै निम्ति अपानि जारी गरिएको बताउँछन्। कसैले पार्टी एकता नै हुन लाग्यो भन्या छ,कसैले अहिलेको सत्ता गठबन्धन छोड्न लाग्यो भनेर हल्ला गरेको छ’ ती पदाधिकारी भन्छन्,यस्तो हल्ला चिर्न पनि अपानि पठाएका हौं। अहिले हाम्रो ध्यान पार्टी निर्माण र महाधिवेशन हो।

अपानिमा सत्ता समीकरण परिवर्तनका क्रममा भएको गतिविधि र पार्टीले लिएको निर्णय पनि समावेश छ। अपानि मार्फत् अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत नदिदा नेपाली कांग्रेसको सरकार बन्ने अवस्था रहेको उल्लेख गरेका छन्।

तर त्यसरी कांग्रेस नेतृत्वमा सरकार बन्दा पनि राजनीतिक स्थिरता नहुने विश्लेषण अध्यक्ष नेपालले गरेका छन्। एकातिर प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने’ अपानिमा लेखिएको छ।

तर पार्टीको अस्तित्वसमेत स्वीकार नगरेको एमाले समेतले सरकारमा सहभागी हुन र गठबन्धनमा समान रुपले सहभागी गराउने प्रतिबद्धता गरेकाले सरकारमा सहभागी भएको अपानिमा उल्लेख छ।

वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको छ’ अपानिमा भनिएको छ।