चौथिकोट आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास: आधुनिक शिक्षाको नयाँ युगको सुरुवात
कमल कोपिला
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–२ मा रहेको चौथिकोट आधारभूत विद्यालयले आधुनिक शिक्षा प्रणाली अनुरूप अगाडि बढ्ने संकेत गरेको छ।
सोमबार, गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट र सामाजिक विकास कार्यालय कालिकोटका समाजिक विकास अधिकृत अधिकृत रछाने लोहार द्वारा विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ३० लाख बजेट विनियोजन भई दुई कोठे आधुनिक भवन निर्माण गर्न लागिएको हो। विद्यालयका प्रधानाध्यापक टेक बहादुर विश्वकर्माका अनुसार यो भवन गाउँपालिकामै पहिलो पटक सुविधामैत्री रूपमा निर्माण हुन लागेको हो।
शिलान्यास गर्दै अध्यक्ष बिस्टले यो योजना केवल विद्यालयको पूर्वाधार सुधार मात्र नभई गुणस्तरीय शिक्षाको नयाँ ढोका खोल्ने कोशेढुंगा हुने बताए। उनले भने, “हामी भविष्यका नरहरिनाथका सक्षम नागरिक तयार पार्न चाहन्छौं। चौथिकोट विद्यालयको यो नयाँ भवन त्यस दिशामा महत्वपूर्ण योगदान दिनेछ।
” स्थानीय विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका लागि यो योजना शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने महत्त्वपूर्ण पाइला भएको छ। सो आधुनिक भवनबाट विद्यार्थीहरूले उत्कृष्ट सिकाइ वातावरण प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सुन्दरतासँग जोडिएका कक्षाकोठा, सहज शैक्षिक सामाग्री र अत्याधुनिक पूर्वाधारले चौथिकोट विद्यालयलाई नरहरिनाथकै एक नमुना विद्यालय बनाउने लक्ष्य राखिएको छ।
यस योजनाले कर्णाली प्रदेशमा गुणस्तरीय शिक्षा र पूर्वाधार विकासको सम्भावनालाई अझ व्यापक बनाउने विश्वास गरिएको छ। शिक्षा क्षेत्रमा भएको यो ऐतिहासिक उपलब्धि गाउँपालिकाका लागि मात्र नभई सम्पूर्ण प्रदेशकै लागि प्रेरणादायी बन्नेछ।
