अमला रोकालाई अदालत लगिँदै, आजै आदेश आउने
काठमाडौं। बहुचर्चित सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदैछ। शुक्रबार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो।
आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भएको थियो। बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर रोकालाई प्रहरी हिरासतमा पठाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय सुरु हुनेबित्तिकै रोकालाई जिल्ला अदालतमा उपस्थित गराइने छ। आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये आदेश आउन सक्ने बताइएको छ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटनाको पटाक्षेप भएको थियो। राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरेको अलग अलग अनुसन्धानबाट अमलाको सक्रिय संलग्नता पुष्टि भएको थियो। अमलाका पति दावा छिरिङ सुन बरामद भएको १२औँ दिनमा पक्राउ परेका थिए।
जिल्ला अदालत स्रोतका अनुसार आइतबार थुनछेक बहस करिब सकिएको थियो। न्यायाधीशले चाहँदा कार्यालय समयपछि पनि केही समय लिएर आदेश गर्न सक्थे। तर, उनलाई धरौटीमा छुटाउन सक्रिय गिरोहको चलखेल बढेसँगै न्यायाधीशहरू उक्त मुद्दामा आदेश गर्न हच्किएका थिए।
