लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं। लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन्। मोरङ,विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय संकलन राई र २७ वर्षीय आषिश कुमार बिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२० प ७४३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

झापा,भद्रपुर नगरपालिका-७ आनिमार्ग स्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र सोही नगरपालिका-११ बस्ने २३ वर्षीय राम तामाङ रहेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बा.प्र.-०१-०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी झापा,भद्रपुर नगरपालिका-५ पोखरी टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९८ मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिराहा,भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने ४० वर्षीय राम नारायण साह र भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही २७ वर्षीय राजन बाबु साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

सुनसरी,बराहक्षेत्र नगरपालिका-८ तीनकुनेबाट लागुऔषध गाँजा करिब ३४ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-८ बस्ने २२ वर्षीय धिरज राई र सोही नगरपालिका- ७ बस्ने ३१ वर्षीय लोकेन्द्र राई रहेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को।३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

बारा,जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ९ सय ३३ ग्राम, ६० हजार ५ सय नेपाली रूपैयाँ र ३९ हजार २ सय १७ भारतीय रूपैयाँ सहित सोही उपमहानगरपालिका-६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ८१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पर्सा,वीरगंज महानगरपालिका-२१ परवानीपुर चोकबाट लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ क्विन्टल १९किलोग्राम र नगद १ लाख ९२ हजार रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राईपोटतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो।

बर्दिया,बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट लागुऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ२ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।