कक्षा ८ सम्म अनिवार्य र १२ सम्म निःशुल्क शिक्षा लागू गरौँ: देवेन्द्र पौडेल
काठमाडौं। पूर्वशिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्नुपर्ने बताएका छन्। उनले सार्वजनिक शिक्षालाई राज्यको पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिए।
बिहीबार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन्।
उनले निजी विद्यालयको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने र सार्वजनिक विद्यालयलाई सेवामूलक बनाउँदै सुदृढ गर्नुपर्ने बताए। उनले निजी विद्यालयको सम्पत्ति संरक्षण सरकारको दायित्व भए पनि तिनको उचित नियमन आवश्यक रहेको उल्लेख गरे।
पौडेलले सरकारले कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रतिबद्धता व्यक्त गरिसकेको भन्दै यसलाई कार्यान्वयन गर्न स्पष्ट समयसीमा निर्धारण गर्नुपर्ने बताए।
उनले भने, ‘सार्वजनिक विद्यालयको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हो र यो सेवामूलक हुनुपर्छ। हामीले कक्षा ८ सम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रतिबद्धता जनाएका छौँ। यो कार्यान्वयनका लागि सरकारले निश्चित समयसीमा तोक्नुपर्छ।
