माओवादी नेताहरूले नै बुझेनन् दुई बुँदे सहमति,प्रचण्डले गरे दु:ख व्यक्त

फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध हटाउन पार्टीका केही नेताहरूले गरेको सहमतिलाई नबुझेर आलोचना गरेकोमा दुख व्यक्त गरेका छन्। बिहीबार अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले विद्यालय ऐन,निजामती सेवा,नागरिकता जस्ता विधेयकहरू पारित गर्नुपर्ने आवश्यकताले सदन सुचारु गर्न पहल गरेको बताए।तर, हाम्रा केही साथीहरूले यो कुरा बुझेनन्,जसले मलाई दुखी बनाएको छ । सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहन्छ। उनीहरूको मनसाय सदन भङ्ग गरेर अध्यादेशमार्फत बजेट र अन्य ऐनहरू पारित गर्ने छ,उनले भने ।

उनले परिस्थितिको गम्भीरतापूर्वक विश्लेषण गरेर कदम चालेको स्पष्ट पारे। ‘सत्तामा रहेकाहरूबीचको दूरी र अन्तर बुझ्न जरुरी छ। हामीले सोहीअनुसार कदम चालेका छौँ, र परिणाम अवश्य आउनेछ,’ उनले जोड दिए। प्रचण्डले केही व्यक्तिहरूले नियतवश गलत प्रचार गरेर नेतृत्वलाई कमजोर बनाउन खोजेको भन्दै मजदुर वर्गले यस्ता कुरालाई बुझेर साथ दिनुपर्ने बताए।