दुर्गम क्षेत्रमा एचआईभी सेवाको पहुँच अभाव, उपचारमा कठिनाई

काठमाडौं। नेपालमा एचआईभी/एड्स नियन्त्रण र उपचारका क्षेत्रमा अझै गम्भीर चुनौतीहरू कायम रहेको विशेषज्ञहरूले बताएका छन्। विशेषगरी दुर्गम र ग्रामीण क्षेत्रमा यस रोगसम्बन्धी जानकारीको अभाव र उपचार सेवाको पहुँचमा समस्या देखिएको छ।

स्वास्थ्य पैरवी समाज र एड्स हेल्थकेयर फाउन्डेशन नेपालको आयोजनामा शुक्रबार सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा विशेषज्ञहरूले एचआईभी कार्यक्रमको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा सहभागी विशेषज्ञहरूले नेपालका दुर्गम क्षेत्रहरूमा एचआईभीरएड्सबारे अझै पनि पर्याप्त जानकारीको अभाव रहेको बताएका छन्। विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरूमा यस रोगका बारेमा गलत धारणा र भ्रमहरू व्याप्त भएको उनीहरूको भनाइ छ।

देशका सबै जिल्लामा एचआईभी परीक्षण र उपचारका सुविधाहरू समान रूपमा पहुँच नभएको समस्या छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका बिरामीहरूलाई नियमित उपचार लिन कठिनाई भइरहेको छ। यसले बिरामीहरूको स्वास्थ्य अवस्थामा नकारात्मक प्रभाव पारिरहेको विशेषज्ञहरूले बताएका छन्।

एचआईभी संक्रमितहरूप्रति समाजमा अझै पनि कलंक र भेदभावको मानसिकता कायम रहेको छ। यसले बिरामीहरूलाई उपचार लिन डराउने र लुकाएर बस्न बाध्य पारिरहेको छ। यो अवस्थाले रोगको फैलावट रोक्न र उपचारमा बाधा पुर्याइरहेको विशेषज्ञहरूको भनाइ छ।

एचआईभी कार्यक्रमको लागि आवश्यक बजेटको अभावले निरन्तर उपचार र रोकथाम कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाई भइरहेको छ। यसले राष्ट्रिय एचआईभी नियन्त्रण लक्ष्य हासिल गर्नमा बाधा पुर्याइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआईभी नियन्त्रणका लागि राष्ट्रिय रणनीतिक योजना कार्यान्वयन गरिरहेको भए पनि अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन। विशेषज्ञहरूले अझै व्यापक र एकीकृत दृष्टिकोणको आवश्यकता रहेको बताएका छन्।

सामुदायिक स्तरमा जागरूकता कार्यक्रम विस्तार, उपचार सेवाको पहुँच सुधार, सामाजिक कलंक अन्त्य गर्ने अभियान, बजेट वृद्धि र प्रभावकारी उपयोग तत्कालका लागि अत्यावश्यक विषय बनेका छन्।

विशेषज्ञहरूले एचआईभी नियन्त्रणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूले आगामी दिनहरूमा यस विषयमा थप ठोस नीति र कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव दिएका छन्।

कार्यक्रममा पत्रकारहरूले एचआईभी कार्यक्रमको बारेमा सही र तथ्यपरक जानकारी प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्। यसले समाजमा फैलिएका भ्रम र गलत धारणाहरू हटाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।