ज्ञानज्योतिले मनायो २१२ औं भानुजयन्ती

चितवन। २१२औं भानु जयन्तीको अवसरमा ज्ञानज्योति पुस्तकालय धर्मचोकको आयोजनामा तिन कविका पन्ध्र कविता कार्यक्रम सम्पन्न भएको छ। उक्त छन्द कविता वाचन कार्यक्रममा भानुभक्तको नेपाली भाषा साहित्य र संस्कृति झल्किने कविता वाचन गरेर कार्यक्रमको सहजीकरण सचिव विनोद अनुजले गरेका थिए।

कार्यक्रममा छन्द कविता गायन साहित्य संगम चितवनका अध्यक्ष कवि प्रकाश चापागाईं,प्रगतिशील लेखक संघको अध्यक्ष विष्णु तिवारी उषा एवम् कवि विदुर अधिकारीले आफ्नो कोकिल स्वरमा पाँच पाँच वटा छन्द कविता वाचन गरे। उक्त कार्यक्रममा चितवनका प्रबुद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित सबैले कार्यक्रम अवधिभर कविहरूको रचनामा मस्त रहेर सुनेको दृश्य सुन्दर थियो। कार्यक्रममा तिनैजना कविलाई पुस्तकालयका अध्यक्ष गोविन्दप्रसाद खरेलले मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने उपस्थित सबैलाई अध्यक्षले धन्यवाद एवं आभार व्यक्त गरेका थिए। कार्यक्रम ज्ञानज्योति पुस्तकालय धर्मचोकको आफ्नै सभाहलमा सम्पन्न भएको थियो।