रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा

फाइल तस्वीर

काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानतसम्बन्धी जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रुपन्देही अदालतमा दिएको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा पेसी तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि उनी २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।

उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार बैंक दाखिला समेत गरिदिएको बताएका छन्।