नाउपा अध्यक्षमा लालवीरलाई निर्वाचन आयोगले दिएन आधिकारिकता
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आधिकारिक अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने भएकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले केही समयअघि राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा अध्यक्ष रन्जिता नै रहने भएकी हुन्।
मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको हो। यससँगै स्वतः रञ्जिता नै अध्यक्ष रहने स्थिति बनेको छ।
स्रोतका अनुसार मंगबार राति आयोगले यस्तो निर्णय गरेको हो। तर, निर्वाचन आयोगको पत्र भने नाउपाले पाएको छैन। सम्भवतः आजै पत्र पाउन स्रोतले बताएको छ।
यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।
