एलपी ग्यास किन्न पाँच वर्षमा विदेशियो चार खर्ब रुपैयाँ

काठमाडौं। पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपैयाँको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा सबैभन्दा धेरै ६२ अर्ब ५५ करोड रुपैयाँको पाँच लाख ४० मेट्रिक टन ग्यासको आयात भएको छ। अघिल्लो आव २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख रुपियाँ बराबरको पाँच लाख २४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो। एक वर्षमा सात अर्ब रुपैयाँको ग्यासको बढी आयात भएको तथ्याङ्कले देखाएको छ।

आव २०७९/८० मा ५३ अर्ब रुपैयाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले खपत बढेसँगै आयात बढ्दै गएको बताए।