मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आइतबार बिहान करिब पौने २ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३(०२(००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानिलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२(०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा घर भई हाल बूढानिलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, नाम नखुलेका दुई युवाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही अस्पतालमा उपचाररत अर्का एक युवाको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ। उनको नाम र ठेगाना नखुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए।

दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।