सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न
प्रेम प्रसाद कडेल
चितवन।सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा भरतपुर -४ कटेरो पार्टी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उपेन्द्रराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष भूपतिदास सापकोटाले बोल्दै कार्यक्रममा सहभागी सबै सबैमा सहकारी संस्थाको गरिमालाई उच्च राख्ने काम गरेको, सहकारीको विकास र समृद्धि कायम गर्न सञ्चालक समितिलाई निर्देशन दिए।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला ऋण तथा बचत सहकारी संस्थाको चितवनका अध्यक्ष विद्या कोइरालाले बोल्दै सहकारी नियमावली र नीति बमोजिम सहकारी संस्था सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइन्। कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघका जिल्ला कोषाध्यक्ष पदमपाणि सुवेदी, अतिथि रामजी प्रसाद अधिकारी, यज्ञपूरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजनारायण कडेल, सल्लाहकार भानुभक्त सापकोटा, मिना खरेल लगायत थिए।
कार्यक्रममा जेष्ठ नागरिक ७० वर्षमाथिका शेयर सदस्य १२ जना, उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट कोष परिचालक २ जना उत्कृष्ट दैनिक बचतकर्ता एक जनालाई सम्मान गरिएको थियो।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आधारभूत विद्यालय सानो यज्ञपूरीका कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरु विपन्न वर्गका आयुष्मा रेग्मी र जेहन्दार विद्यार्थी यूनिश खरेललाई नगद एक हजार पाँचसय छात्रवृत्ति प्रदान गरेको कार्यक्रममा विद्यालयका विद्यार्थीसहित प्रधानाध्यापक वीर बहादुर थापा उपस्थित थिए। साधारणसभामा करिब पन्ध्र सयभन्दा माथि शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक हिरामणि खरेलले संस्थाको लेखाको वार्षिक लेखा सन्तोषजनक रहेको बताए। उनले सञ्चालक समितिले सुपरिवेक्षण समितिले दिएको सुझाव अक्षरशः पालना गरेको बताए।
कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद खरेलले संस्थाको आर्थिक कारोबारको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरे।कार्यक्रममा बोल्दै सामुदायिक ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष उपेन्द्रराज सापकोटाले उपस्थित सबै सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकारी संस्थाको विकास एवम् उत्तरोत्तर प्रगतिको लागि सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम संस्थाका सचिव नृसिह कडेलले सहजीकरण गरे। उक्त कार्यक्रममा कान परिक्षण रोडसाइड क्लिनिकको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको संस्थाका व्यवस्थापक हरिप्रसाद कडेलले जानकारी दिए। कार्यक्रम भव्यताका साथ सम्पन्न भएको उपस्थित शेयर सदस्यहरुको अन्तिम समयसम्मको धैर्य उपस्थितिले हल भरिभराउ थियो।
