देउवा निवासको पैसाबारे विश्वप्रकाश-जसको घर हो, उसैलाई थाहा होला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेका नोटको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। जेनजी आन्दोलनका क्रममा आन्दोनकारीले देउवाको निवासमा आगजनी गर्दा जलेका नोट भेटिएको भिडियो सार्वजनिक भएको थियो।
सोमबार कोइराला निवास पुगेका शर्माले पत्रकारहरूसँग कुरा गर्दै यो विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत राज्यका निकायले छानबिन गरिरहेको उल्लेख गरे । उनले अनुमानका आधारमा चर्चा गर्नुको सट्टा अनुसन्धानको निष्कर्षलाई स्वीकार गर्नुपर्ने जोड दिए।
कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका हिमाल श्रेष्ठ र इलामका डम्बर खड्काले यो विषयमा प्रश्न उठाएका थिए। शर्माले सभापति देउवालाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएको र यो विषय स्पष्ट गर्ने दायित्व घरवालाकै भएको बताए।
“राज्यले निष्पक्ष अनुसन्धान गरेर सत्य पत्ता लगाउनुपर्छ, आशङ्का मात्रै हो कि सत्य हो, अनुमानले भन्न सकिँदैन,उनले भने। देउवाको सचिवालयले भने भेटिएको भनिएको तस्बिर र भिडियो वास्तविक नभएको दाबी गरेको छ । शर्माले पार्टी र सभापति देउवाको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने बताए।
सभापतिको स्वास्थ्य लाभसँगै पार्टीको स्वास्थ्यलाई पनि प्राथमिकता दिन जरुरी छ,उनले भने। कोइराला निवासमा उभिएर उनले नयाँ परिस्थितिमा कांग्रेस नयाँ ढङ्गले अघि बढ्ने र मुलुकलाई सम्भावनातिर लैजाने प्रतिबद्धता व्यक्त गरे।
