सेनाकै सुुरक्षामा उपचार गराउँदै देउवा दम्पती
काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले पनि शिवपुरीस्थित सेनाको व्यारेकमा उपचार गरिरहेका छन्।
देउवाको टाउकोमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइएको छ। जानकार नेताहरुका अनुसार उनलाई अहिले पनि निद्रा राम्रो परेको छैन । उठ्दा रिंगटा लागिरहेको छ। चिकित्सकहरुले देउवालाई आराम गर्न सुझाव दिएका छन्। देशमा सत्ता परिवर्तन भएको बेला उनी भने शिवपुरीस्थित सेनाको ब्यारेमा बसिरहेका छन्।
‘नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा योद्दामाथि भएको हमलालाई उहाँले सामान्य रुपमा लिनुभएको छैन’, देउवासँग भेटेर आएका एक नेताले दृष्टिसँग भने। गैरदलीय सरकारको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । यो अन्तरिम सरकारको म्याण्डेट आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो।
सरकारका मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै निर्वाचन गराउनु भएको प्रतिक्रिया व्यक्त गरिरहेका बेला देउवा दम्पतीको खोजी तीव्ररुपमा भइरहेको छ । तर निकट नेताहरुका अनुसार देउवा अझै केही दिन सार्वजनिक अभिव्यक्ति दिने अवस्थामा छैनन् ।
जेन–जीको भदौ २३ र भदौ २४ गतेको आन्दोलनका कारण पुराना दल र यसका नेतृत्वहरू विस्थापित गरिनुपर्ने आवाज उठेको छ । आन्दोलनको क्रममा पुराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा र उनकी धर्मपत्नी आरजु भने आन्दोलनकारीको निर्मम कुटाईबाट घरमै सख्त घाइते भएका थिए । देउवा दम्पतीलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराइरहेको छ ।
उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ । कांग्रेस नेताहरुले सभापति दम्पतीको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिइरहेका छन् । ‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार, गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ’, कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ ।’
देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा छन् । ‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उनले भने । चिकित्सकले केही दिन अmभै अस्पतालमा राख्नुपर्ने बताएको पनि उनले जानकारी गराए ।
२४ भदौमा बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणबाट घाइते उनीहरुको स्वास्थ्य अवस्था अहिलेपनि कमजोर रहेको छ । प्रदर्शनकारीहरू बिहान ९ बजेदेखि नै देउवाचोकमा भेला भएका थिए । बिस्तारै उग्र बन्दै गएको भीड देउवा निवासतर्फ अघि बढेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले निवासमा पसेर देउवा दम्पतीमाथि कुटपिट गरेका थिए ।
उनीहरूलाई घरभित्रै लछारपछार गर्दै बाहिर ल्याइएको थियो । देउवा दम्पतीको गर्धन, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको चिकित्सकहरूको भनाइ छ । उनीहरूको आक्रमणमा सिसा, रड र धारिलो हतियार प्रयोग गरिएको थियो।
त्यस क्रममा पनि उनीहरूमाथि ढुंगा प्रहार भइरहेकाले सुरक्षाकर्मीहरूले जस्तापाताले ढाकेर देउवा दम्पतीलाई सुरक्षित राखेका थिए । त्यही स्थानमा मेडिकल टिमले घाइते दम्पतीको प्राथमिक उपचारसमेत गरेको थियो। हेलिकोप्टर पटकपटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि अन्ततः नेपाली सेनाले उनीहरूलाई गाडीमार्फत उद्धार गरी सुरक्षित रूपमा शिवपुरीतर्फ लगेको थियो।
