जनअधिकार संघर्ष समितिको आन्दोलन तीव्र,मिटरब्याजी गंगाराम रौनियारले पीडितलाई न्याय नदिए कारबाही गर्ने चेतावनी
काठमाडौं। बर्जु गाउँपालिका वडा नं. ६ चिमडीका कुख्यात मिटरब्याजी गंगाराम रौनियारले ब्याजको नाममा ठगेको गुनासो बाहिर आएको छ। लामो समयदेखि मिटरब्याजीको माध्यमबाट स्थानीय नागरिकहरूलाई आर्थिक रूपमा सर्वस्व गुमाउने स्थितिमा पुर्याएको भन्दै पीडितहरूले न्यायको माग गरेका छन्।
मिटरब्याजबाट पीडित भएका व्यक्तिहरूलाई न्यायको लागि आवाज उठाउँदै जनअधिकार संघर्ष समितिका संयोजक हरिकृष्ण गजुरेलसहितका अगुवाले पत्रकार सम्मेलन गरेर गंगाराम रौनियार विरुद्ध खबरदारी गरेका छन्। समितिले गंगाराम रौनियारले मिटरब्याजको माध्यमबाट स्थानीय नागरिकहरूलाई व्यवस्थित ढंगले ठगी गरेको आरोप लगाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक गजुरेलले यस्ता मिटरब्याजीहरूले गरिब र आर्थिक रूपमा कमजोर वर्गको रगत चुस्दै आएको बताउँदै अब यस्ता व्यक्तिहरू विरुद्ध देशभरि अभियान सञ्चालन गरेर कानुनी रूपमा कारबाही गर्ने दृढ संकल्प व्यक्त गरे। उनले मिटरब्याजीको शिकार भएका पीडितहरूलाई न्याय दिलाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। गजुरेलले यस्ता अवैध गतिविधिले समाज र अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको भन्दै यसको अन्त्य गर्न सबै सरोकारवाला पक्षहरूसँग मिलेर काम गर्ने बताए।
जनअधिकार संघर्ष समितिले भने गंगाराम रौनियारलाई पीडितहरूलाई थप पीडा दिने काम गरे कारबाही गर्ने कडा चेतावनी दिएका छन्। समितिले यो मामिलामा कानुनी प्रक्रिया अगाडि बढाउने र पीडितहरूलाई न्याय दिलाउन सबै प्रकारका प्रयास गर्ने बताएको छ। समितिका संयोजक गजुरेलले पीडितहरूको पक्षमा उभिनु नैतिक दायित्व भएको बताउँदै यस्ता अपराधीहरूलाई कानुनको दायरामा ल्याइनै छाड्ने चेतावनी दिए।
स्थानीयवासीहरूले गंगाराम रौनियार लामो समयदेखि मिटरब्याजीमा संलग्न रहेको र यस क्षेत्रका धेरै परिवारलाई आर्थिक रूपमा शाेषण गर्ने गरेकाे बताएका छन्। मिटरब्याजीको शिकार भएका केही व्यक्तिहरूले आफ्नो जग्गा जमिनसम्म गुमाउनुपरेको गुनासो गरेका छन्।
उनीहरूले सानो रकम ऋण लिएर अत्यधिक ब्याज तिर्न नसक्दा अन्ततः आफ्नो सम्पत्ति नै गुमाउनुपरेको पीडा व्यक्त गरेका छन्। स्थानीयवासीहरूले यस्ता मिटरब्याजीहरूलाई कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायहरूसँग माग समेत गरेका छन्।
