करिब ५,००० कैदी अझै फरार: लुकाउने वा आश्रय दिनेलाई पनि कैद
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका कैदीबन्दीको खोजी तीव्र पारिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार भदौ २४ अघि जेलमा २९,००७ कैदीबन्दी थिए, जसमध्ये १३,२०७ जना भागेका छन्।
जसमा बालसुधार गृहसहित कुल ३०,४२९ मध्ये १४,००० भन्दा बढी फरार छन्। करिब ५,००० अझै फर्किएका (फरार छन्) छैनन् । कारागार व्यवस्थापन विभागका अनुसार सबै ठाउँमा सम्भव नभए पनि फरार कैदीबन्दीका ठेगाना र फरार भएको जिल्लामा तस्बिर सार्वजनिक गरिनेछ। विभागले उपलब्ध तस्बिरहरू क्रमशः प्रकाशित गरिने जनाएको छ।
फरारमध्ये कैदीहरूमा धेरै भारतीय नागरिक छन्। गृह मन्त्रालयले चाडबाडपछि खोजी अभियानलाई ‘म्यासिभ’ बनाइने बताएको छ। त्यसका लागि तीनै सुरक्षा निकायको संयुक्त टोली परिचालित छ। त्यस्तै, लुटिएका हतियार फिर्ता र जोखिम क्षेत्रमा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
फरार कैदीबन्दीको नामावली जिल्ला प्रशासन,अध्यागमन,बसपार्क,सीमा नाका,सार्वजनिक सवारी,शैक्षिक संस्था,टोल समिति र क्लबमा पठाइएको छ । हरेक जिल्लामा सहायक सीडीओको नेतृत्वमा कार्यदल सक्रिय छ,जसले स्थानीय सरकारसँग समन्वय गर्छ।
लुकाउनेलाई पनि कारबाही
फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने कारागार व्यवस्था विभागले जनाएको छ। कारागारबाट व्यक्ति भगाएमा वा भगाउन सहयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
जेनजी आन्दोलनका प्रदर्शनका क्रममा भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्कन विभागले मौका दिएकोमा उक्त समयसीमाभित्र नफर्किएका व्यक्तिहरूलाई विद्यमान ऐनअनुसार थप सजाय हुने भनिएको थियो।
कारागार व्यवस्था ऐन २०७९ को दफा ४९ मा कारागार सुधार गृह, पुनस्र्थापना केन्द्र तथा बालसुधार गृहमा प्रोबेशन वा परोलमा रहेका व्यक्ति भागेको अवस्थामा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
त्यस्तै कारागारबाट भागेका कतिपय कैदीबन्दी कारागारको भौतिक संरचना तोडफोडमा समेत संलग्न भएका कारण त्यस्तो कसुर गर्ने कैदीबन्दीलाई १० वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ।
उक्त ऐनमा कारागारको पर्खाल, झ्याल वा ढोका भत्काएको अवस्थामा अधिकतम १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।
