प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्न जाँदै जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउने भएको छ ।
द काउन्सिल अफ जेनजी (सुदन गुरुङ)समूहले प्रधानमन्त्री कार्कीलाई आज भेटेर ध्यानाकर्षण गराउन लागेको हो। सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँका अनुसार अहिले बिहान प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने तयारी रहेको छ । तर, कतिबेला भन्ने टुंगो लागिनसकेको उनले बताए ।
श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार विभिन्न मिडियामा आइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् भने नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन्।
